काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेष्टर सिटी रोकिँदा चेल्सी भने पराजित भएको छ । शीर्ष स्थानको आर्सनल भने अन्तिम समयमा संघर्षपूर्ण जित निकाल्न सफल भयो ।
भ्रमणकारी टोली सिटी वेष्ट हम युनाइटेडसँग १–१ को बराबरीमा रोकियो । खेलमा अग्रता पनि सिटीले नै बनायो । बर्नान्डो सिल्भाले खेलको ३१औं मिनेटमा गोल गरेका थिए । तर, त्यो अग्रता चार मिनेटपनि टिकेन । घरेलु टोलीको लागि कोन्स्टान्टिनोस माभ्रोपानसले ३५औं मिनेटमा बराबरी गोल गरेका हुन् ।
बराबरपछि सिटीले आर्सनलसँगको दूरी घटाउने अवसर गुमायो । सिटी ३० खेलबाट ६१ अंकसहित दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको आर्सनल ७० अंकसहित शीर्ष स्थानमा छ । सिटीसँग अंक खोसेको वेष्ट हम भने २९ अंकसहित १७औं स्थानमा रह्यो । टोलीलाई अझै रेलिगेशन डरले छाडेको छैन ।
चेल्सी घरेलु मैदानमै न्युक्यासल युनाइटेडसँग १–० ले स्तब्ध भयो । न्युक्यासलको जितमा एन्थोनी गोर्डनले १८औं मिनेटमा विजयी गोल गरेका थिए । बाँकी समय खेलमा दुबै टोलीले गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।
पराजित भएपछि चेल्सीले चौथो स्थान उक्लने अवसर गुमायो । ३० खेलमा ४८ अंकसहित चेल्सी पाँचौं स्थानमा छ । जितपछि न्युक्यासल भने नवौं स्थानमा उक्लियो । उसले समान खेलबाट ४२ अंक जोडेको छ ।
शीर्ष स्थानको आर्सनलले भने एभर्टनलाई २–० ले हरायो । आर्सनललाई जिताउन भिक्टोर ग्योकेर्स र म्याक्स डवम्यानले गोल गरेका थिए । दुबै गोल अन्तिम १० मिनेटमा सम्भव भएको थियो ।
