रियालमा एन्सेलोट्टीको पुनरागमन

मड्रिड, जेठ १९ (खेलाडी)– स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडले पूर्व प्रशिक्षक  कार्लो एन्सेलोट्टीलाई पुनः प्रशिक्षकमा नियुक्त गरेको छ ।

मंगलबार रियालले प्रिमियर लिगको क्लब एभर्टनका प्रशिक्षक एन्सेलोट्टीलाई मुख्य प्रशिक्षकको रुपमा पुनः टोली प्रशिक्षणको जिम्मेवारी सुम्पिएको हो । रियालले एन्सेलोट्टीसँग तीन वर्षको सम्झौता गरेको छ । उनको सम्झौता अवधि सन् २०२४ सम्म रहने छ ।

यस सिजन रियाललाई कुनै पनि उपाधि जिताउन नसकेको भन्दै चर्को आलोचनासँगै फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले पदबाट राजीनामा दिएका थिए ।

यसअघि एन्सेलोट्टीले सन् २०१३ देखी २०१५ सम्म प्रशिक्षकका रुपमा स्पेनिस महारथी रियालको नेतृत्व गरेका थिए।  उनको प्रशिक्षणमा टोलीले च्याम्पियन्स लिग, कोपा डेल रे, युइएफए सुपर कप र क्लब विश्वकपको उपाधि जितेको थियो ।

एन्सेलोट्टीले बार्यन म्युनिख, युभेन्टस, नेपोली, एसी मिलान, चेल्सी र पिएसजीमा पनि मुख्य प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।