काठमाडौं । नेदरल्यान्ड्स आगामी वर्ष हुने फिफा विश्वकपका लागि छनोट भएको छ ।
सोमबार सम्पन्न युरोपियन छनोटमा नेदरल्यान्ड्सले लिथुआनियाविरुद्ध ४-० को सहज सजत निकाल्यो ।
जितसँगै नेदरल्यान्ड्स आठ खेलमा २० अंकका साथ समूह ‘जी’ को शीर्ष स्थानमा रह्यो ।
जोहान क्रुइफ एरिनामा घरेलु टेली नेदरल्यान्ड्सलाई जित दिलाउन तिज्जानी रेइन्डर्स, कोडी गाक्पो, जाभी सिमेन्स र डोनेल मालेनले गोल गरे ।
खेलको १६औं मिनेटमा रेइन्डर्सको गोलमार्फत नेदरल्यान्ड्सले अग्रता लिएको थियो । ५८औं मिनेटमा गाक्पोले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए ।
त्यसको दुई मिनेटपछि नै सिमोन्सले गोल गर्दा नेदरल्यान्ड्सको अग्रता ३-० मा पुग्यो । ६२औं मिनेटमा मालेनले टोलीका लागि चौथो गोल गरे ।
नेदरल्यान्ड्स आगामी विश्वकपमा छनोट हुने सातौं युरोपियन तथा समग्रमा ३४औं राष्ट्र हो ।
यसअघि युरोपबाट इङ्ल्यान्ड ,फ्रान्स, कोएसिया, पोर्चुगल, नर्वे र जर्मनी, अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, आइभोरी कोस्ट, केप भर्डे र सेनेगल, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान, कतार, साउदी अरेबिया र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् ।
४८ टोलीको सहभागिता रहने फिफा विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।
