काठमाडौं । ओपनर आसिफ शेखले सम्हालिएको प्रदर्शनसाथ अर्धसतक प्रहार गरेपछि साविक विजेता जनकपुर बोल्टसले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको उद्घाटन खेलमा काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङलाई निम्त्याइएको जनकपुरका लागि आसिफले ४१ बलमा ६ चौका र १ छक्कासहित ५४ रनको योगदान गरे ।
ओपनिङ पार्टनर १२ बल खेलेर सात रनमै पवेलियन फर्केको इनिङमा तेस्रो नम्बरमा आएका कप्तान अनिल शाह पनि दुई बल सामना गर्दै खाता पनि नखोली आउट भएका थिए ।
त्यसपछि आएका यान निकोल लफ्टी इटन र सञ्जय कृष्णमुर्ती समान दुई रनमा पवेलियन फर्किँदा जनकपुरको इनिङ निक्कै धर्मराएको थियो ।
तर आसिफको परिपक्व तथा आक्रामक ब्याटिङमा मायन यादव र लहिरु सामाराकोनले राम्रो साथ दिएपछि जनकपुर निर्धारित २० ओभरमा ६विकेट गुमाउँदै १३० रनको योगफल बनाउन सफल भयो ।
टोलीका लागि मायनले २९ बलमा २ चौका र १ छक्कासहित ३४ तथा लहिरुले २१ बलमा २ छक्कासहित २२ रनको योगदान गरे । रुपेश सिंहले ४ रन बनाए ।
काठमाडौंका लागि मिलिन्द कुमारले ४ ओभरमा १५ रन खर्चिँदै ३ विकेट लिए भने कप्तान करण केसी, साहब आलम र सन्तोष यादवले १/१ विकेटमा नाम लेखाए ।
अब काठमाडौंले नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक फ्लड लाइटमा खेल्दै लक्ष्य पछ्याउनेछ ।
