काठमाडौं । बार्यन म्युनिखले जर्मन बुन्डेसलिगमा शनिबार बोरुसिया डर्टमन्डविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
लगातार सातौं जितसँगै सात खेलमा २१ अंक जोडेको बायर्न शीर्ष स्थानमा छ । पराजित डर्टमन्ड समान खेलबाट १४ अंकका साथ चौथो स्थानमा छ ।
एलियान्ज एरिनमा घरेलु टोली बायर्नलाई जित दिलाउन ह्यारी केन र माइकल ओलिसेले गोल गरे । डर्टमन्डका लागि जुलियन ब्रान्ड्टले गोल फर्काए ।
खेलको २२औं मिनेटमा केनको गोलमार्फत बार्यनले अग्रता लिएको थियो । उनले जोशुवा किमिचको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिए ।
ओलिसेले ७८औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । लुईस डियाजको क्रसलाई डर्टमन्डका मिडफिल्डर जोबे बेलिङघमले रोक्ने प्रयास गरे पनि आलिसले ब्लक गर्दा बलले जाली चुमेको थियो ।
निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा ब्रान्ड्टले डर्टमन्डलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । उनले जुलियन रेयरसनको क्रसलाई वान टचमै गोलमा परिणत गरे ।