लुकाकु सिरी ‘ए’का सर्वोत्कृष्ट खेलाडी

मिलान, जेठ १८ (खेलाडी)– इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकु इटालियन सिरी ‘ए’ को वितेको सिजनका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

बेल्जियमका स्ट्राइकर लुकाकुकै प्रेरणादायी प्रदर्शनमा इन्टरले ११ वर्षपछि पहिलो पटक यसपाली युभेन्टसको दबदबामा पूर्णविराम लगाउदै सिरी ‘ए’को उपाधि जितेको थियो । यस क्रममा लुकाकुले २४ गोल गर्नुका साथै ११ गोलका लागि पास उपलब्ध गराएका थिए । २९ गोलका साथ सिरी ‘ए’ को सर्वाधिक गोलकर्ता रहेका युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो उत्कृष्ट स्ट्राइकर बने ।

त्यस्तै फियोरेन्टिनाका डुसान भाल्होभिच उत्कृष्ट युवा खेलाडी(यु २३) बन्दा एसी मिलानका जियानलुइजी डोनारुम्मा उत्कृष्ट गोलकिपर भए । सिजनका १४ खेलमा उनले मिलानको पोष्ट पूर्ण सुरक्षित राखेका थिए । एट्लान्टाका क्रिस्टियन रोमेरो उत्कृष्ट रक्षक बन्दा इन्टरका निकोलो बारेल्ला उत्कृष्ट मिडफिल्डर भए ।