आर्टुरो भिडाललाई कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै

सान्टियागो, जेठ १८ (खेलाडी)– कोभिड १९ को संक्रमणबाट विरामी परेका चिली तथा इन्टर मिलानका मिडफिल्डर आर्टुरो भिडालको अस्पतालमा उपचार भइरहेको चिलीको राष्ट्रिय टिमले मंगलबार पुष्टी गरेको छ । 

राष्ट्रिय टिमले एक विज्ञप्ती जारी गर्दै जनाएअनुसार संक्रमण पुष्टी भएपछि उनको टन्सिल बढेर गाह्रो भएको थियो । हाल ३४ वर्षे भिडाल अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् । भिडालले उपचारमा संलग्न चिकित्सकहरुलाई गरेको अनुरोधका आधारमा उनलाई कोरोना संक्रमण पुष्टी भएको समाचार सार्वजनिक गरिएको पनि राष्ट्रिय टिमले जनाएको छ । भिडाल स्वयमले पनि आफ्नो इन्स्टाग्राममार्फत आफूलाई संक्रमण भएको सार्वजनिक गरिसकेका छन् ।

‘म चाँढै निको हुनेछु । सम्भव हुनेजत्ति सबैले तत्काल खोप लगाउन पनि म विनम्र अनुरोध गर्दछु,’ भिडालले इन्स्टाग्राममा लेखेका छन् । 

‘भिडाल अहिले अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन् । टन्सिलका कारण अत्यन्तै पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । भिडालकै अनुरोधमा उनलाई संक्रमण भएको खवर सार्वजनिक गरिएको हो,’ राष्ट्रिय टिमद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

पछिल्लो पटक गरिएको परिक्षणमा चिलीको टोलीबाट भिडाललाई मात्र कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो । 

चिलीको जर्सीमा १ सय १९ पटक अन्तर्राष्ट्रिय खेल खेलिसकेका भिडालले संक्रमणका कारण शुक्रबार अर्जेन्टिनाविरुद्ध हुने विश्वकप छनोट खेल गुमाउने निश्चित छ । त्यसपछि चिलीले अर्को छनोट खेलअन्तर्गत जुन ९ मा बोलिभियासँग खेल्नेछ । भिडाल त्यो खेलमा पनि मैदान उत्रिने सम्भावना छैन । त्यसपछि जुन १३ बाट सुरु हुने कोपा अमेरिकाका पछिल्ला खेललाई भने उनी ठिक भएर मैदान फर्किने अपेक्षा गरिएको छ ।