नेपालगञ्ज । भारतको सिलगुरी एफसीविरुद्ध ४-० को सहज जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार नेपालगञ्ज रंगशालामा पुलिसलाई जित दिलाउन निर्मला उपाध्यायले दुई तथा मिना देउवा र कप्तान निरु थापाले गोल गरे । खेलको ‘प्लेयर अफ द म्याच’ निर्मला घोषित भइन् ।
अब पुलिसले फाइनल प्रवेशको लागि वैशाख ९ गते अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४-० ले नै पराजित गरेको थियो ।
पुलिसले पहिलो हाफमै चार गोल गरेको थियो । मिनाले खेलको १३औं मिनेटमै पहिलो गोल गरिन् । पाँच मिनेटपछि नै निर्मलाले पुलिसको अग्रता दोब्बर बनाए ।
पुलिसले २२औं मिनेटमा आफ्नो अग्रतलाई ३-० मा पुर्यो । निरुले पेनाल्टीमार्फत गोल गरिन् ।
निर्मलाले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् । दोस्रो हाफमा भने सिलिगुरीले सुधारिएको खेल खेलेको थियो । दुवै टोलीबाट गोल भने निस्कन सकने ।
आइतबार घरेलु टोली बाँके ११ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।