इङ्लिस लिग कप

चेल्सी, लिभरपुल र टोटनहम सेमिफाइनलमा

लन्डन । ब्रेन्टफोर्डमाथि २-० को सहज जितसहित चेल्सीले बुधबार इङ्लिस लिग कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

८०औ‌ मिनेटमा ब्रेन्टफोर्डका पोटस जानसनको आत्मघाती गोलमा चेल्सीले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि जर्जिन्होले पेनाल्टीको सुदुपयोग गर्दै चेल्सीको सहज जितसहित अन्तिम चारको यात्रा पक्का गरेका थिए ।

सेमिफाइनलमा चेल्सीले टोटनहम हटस्परको सामना गर्नेछ । टोटनहम बुधबार नै सम्पन्न खेलमा वेस्ट हम युनाइटेडलाई २-१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

२९औं मिनेटमा स्टेभिन बर्जविनले गरेको गोलमा टोटनहमले अग्रता लियो । तर त्यसको तीन मिनेटपछि नै जारोड बोविनले बललाई पोस्टको दिशा दिएसँगै वेस्ट हम खेलमा फर्किएको थियो । ३४औं मिनेटमा लुकास मौराले टोटनहमलाई पुन अग्रता दिलाए । 

त्यस्तै लिभरपुलले लेस्टर सिटीमाथि टाइब्रेकरमा ५-४ को जित हात पार्दै आर्सनलसँगको सेमिफाइनल भेट पक्का गर्यो ।

लेस्टरले तीन पटकको अग्रता जोगाउन सकेन । नौ र १३औं मिनेटमा जेमी भार्डीको गोलमा लेस्टरले २-० को अग्रता लिएको थियो । 

१९औं मिनेटमा एलेक्स अक्स्लेड चेम्बरलियनले गरेको गोलमा लिभरपुलले खेलमा फर्कने संकेत गरेको थियो । तर ३३औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरको अग्रता ३-१ मा पर्याएपछि लिभरपुलको अन्तिम चारको यात्रा कठिन बनेको थियो ।

६८औं मिनेटमा डिएगो जोटा र इन्जुरी समयको पाँचौ मिनेटमा ताकुमी मिनामिनोले गरेको गोलमा लिभरपुलले खेल बराबरीमा ल्याएको थियो ।

पेनाल्टी सुटआउटमा लिभरपुलका जेम्स मिल्नर, रोबर्टो फिर्मिनो, अक्सलेड चेम्बरलियन, नाबी केइटा र  जोटाले गोल गर्दा मिनामिनाको प्रहार विफल पएको थियो  । 

लेस्टरका युरी टिलेमन्स,म्याडिसन,मार्च अल्ब्राइटन,केलेची इहेनाचोको प्रहारले जाली चुम्दा लुक थोमस र रेयान ब्रिटानको प्रहार विफल भएको थियो ।