काठमाडौं । सुस्मा तामाङको उत्कृष्ट प्रदर्शनप्रेरित वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको सुपर स्टेजमा पहिलो जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मंगलबार सम्पन्न सुपर स्टेजअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा वालिङले बागमती युवा क्लबविरुद्ध ३-१ को जित निकाल्याे ।
पहिलो जितसँगै वालिङले आठ खेलबाट तीन अंक जोड्यो । हार बेहोरेको बागमतीको समान खेलबाट चार अंक रह्यो ।
यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको वालिङका लागि यो जित सन्त्वना बन्योे । वलिङलाई जित दिललाउन सुस्माले ह्याट्रिक गरिन् । बागमतीका लागि सारा लिम्बुले गोल गरिन् ।
खेलको ४२औं मिनेटमा साराको गोलमार्फत बागमतीले अग्रता लिएको थियो । तर दोस्रो हाफमा सम्हालिन नक्दा बागमती हार बेहोर्न बाध्य बन्यो ।
सुस्माले ५६, ६८ र ८५औं मिनेटमा गोल गर्दै वालिङलाई जितविहिन हुनबाट जोगाइन् ।