यु १९ महिला साफ च्याम्पियनशिप

निरन्तर जितकाे खाेजीमा नेपाल

काठमाडौं । यु १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आइतबार नेपाल चिरप्रतिद्धन्द्धी भारतसँग तीन अंक जोड्दै आफ्नो जित लयलाई निरन्तरता दिन चाहन्छ ।

बंगलादेशको ढाकास्थित बिएसएसएस मुस्तफा कमल फुटबल रंगशालामा समूहको अन्तिम खेल खेल्न लागेको नेपालले भारतसँग अंक बाँडेमात्र पनि फाइनलमा स्थान पक्का गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो तीन बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको नेपाली टोलीले दोस्रो खेलमा श्रीलंकालाई ६-० र तेस्रो खेलमा भुटानलाई ४-० ले हराउँदै च्याम्पियनसिपको फाइनल प्रवेश सम्भावना बलियो पारेको थियो ।

भुटानविरुद्धको जितसँगै तीन खेलबाट सात अंक जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा छ । सातै अंक जोडेको बंगलादेश दोस्रो र तीन खेलमा ६ अंक जोडेको भारत तेस्रो स्थानमा छ । त्यस्तै तीन खेलमा तीन अंक जोडेको भुटान चौंथो र अंकविहिन श्रीलंका पाँचौ स्थानमा छन् ।

पाँच टोलीको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।