सहिद स्मारक ‘ए’ डिभिजन लिग

थ्री स्टारको जितविहिन यात्रा निरन्तर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगगमा थ्री स्टार क्लबको जितविहिन यात्राले लगातार चौथो खेलमा पनि निरन्तरता पाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा थ्री स्टार न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरीमा रोकिएको हो ।

पहिलो खेलमा च्यासल युथ क्लबमाथि ३-० को सहज जितका साथ लिगमा उत्कृष्ट सुरुआत गरेको थ्री स्टारले त्यसपछि भने लय अनुसारको प्रदर्शन गर्न सकेको छैन ।

दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग १-० ले स्तब्ध भएको थ्री स्टार त्यसपछिका दुई खेलमा क्रमशः फेन्डस क्लबसँग १-१ को बराबरी र एपिएफसँग गोलरहित बराबरी खेलेको थियो । 

थ्री स्टार पाँच खेलमा ६ अंकसहित छैटौं स्थानमा छ भने समान खेलम समान ६ अंक बटुलेको एनआरटी सातौं स्थानमा छ ।

लिग अन्तर्गत शनिबार दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा जावलाखेलले जारी सिजनकै पहिलो जित हात पार्ने क्रममा च्यासल युथ क्लबलाई १-० ले हराएको थियो ।
त्यस्तै शीर्ष स्थानमा दुई अंकको अग्रता दिने क्रममा मनाङले घरेलु मैदानमा रुपमा रहेको पोखरा रंगशालामा पुलिस क्लबलाई ३-१ ले पराजित गरेको थियो ।

मनाङको पाँच खेलमा १३ अंक छ, जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मच्छिन्द्र क्लब भन्दा दुई अंक बढी हो । पाँच खेलमा पाँच अंक जोडेको पुलिस नवौं स्थानमा छ ।