सहिद स्मारक ‘ए’ डिभिजन लिग

शीर्ष स्थानमा मनाङको अग्रता

पोखरा । सहिद स्मारक ए डिभिजन लिगको इतिहासमै पहिलो होम म्याच खेलेको मनाङ मर्स्याङ्दी क्लबले विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबविरुद्ध ३–१ को सहज जितका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

पाँच खेलमा १३ अंकसहित मनाङ दोस्रो स्थानमा उक्लिएको हो ।जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मच्छिन्द्र क्लब भन्दा दुई अंक बढी हो ।

सातौं चरणको समाप्तीमा शीर्ष स्थानमा रहने टोलीले नेपालको लिग विजेताको हैसियतमा एएफसी कप छनोट खेल्ने भएकाले पाँचौ चरणमा पुलिसमाथिको जितले मनाङका लागि विशेष बन्यो ।

मनाङले छैटौ चरणमा मच्छिन्द्रको सामना गर्नेछ । मच्छिन्द्र भने शुक्रबार संकटा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

घरेलु मैदानमा भरपुर सदुपयोग गरेको मनाङले पहिलो हाफमा पुलिससँग १–१ बराबरी खेलेका थियो ।  यद्यपि, दोस्रो हाफमा थप आक्रामक बनेको मनाङलाई जित दिलाउन कप्तान अञ्जन विष्टले दुई तथा निशान लिम्बुले एक गोल गरे । पोखरा रंगशालालाई होम ग्राउन्ड बनाएसँगै एसियाली फुटबल महासंघबाट (एएफसी) लाइसेन्स पाएपछि मनाङले सहिद स्मारक लिगको इतिहासकै पहिलो होम म्याच शनिबार पोखरामा खेलेको थियो ।

पोखरा रंगशालामा शनिबार दिउँसो २ बजे सुरु भएको खेलको १० मिनेट नबित्दै घरेलु टोली मनाङले अग्रता लिएको थियो । डिफेन्डर दिनेश राजवंशीले डिफेन्सिभ हाफबाट दिएको लामो पासलाई पुलिसको पेनाल्टी बक्सको एजमा नियन्त्रणमा लिँदै कप्तान अञ्जन विष्टले गोल गरेका थिए ।

पुलिसका गोलकिपर रोशन खड्का बल नियन्त्रणमा लिन अगाडि बढ्को फाइदा उठाउँदै मनाङका कप्तान अञ्जनले सहजै गोल गरेका थिए । अञ्जनको सो गोल सहिद स्मारक लिगअन्तर्गत उपत्यकाबाहिर भएको पहिलो गोल समेत बनेको थियो ।

सुरुआतदेखि नै प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता बनाए पनि मनाङले ३५औं मिनेटमा गोल खान पुगेको थियो । मनाङका डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निर कुमार राईमाथि खराब फाउल गरेसँगै विभागीय टोलीले पेनाल्टी पाएको थियो ।

सोही पेनाल्टीलाई पुलिसका फरवार्ड सुमन लामाले गोलमा परिणत गरेसँगै पुलिसले खेलमा बराबरी गरेको थियो । जारी लिगमा व्यक्तिगत तेस्रो गोल गरेका सुमनले मनाङका गोलकिपर विशाल सुनारले डाइभ गरेकोभन्दा विपरीत दिशामा सहज गोल गरेका थिए ।

दोस्रो हाफमा आक्रमक बनेको मनाङका लागि ७३औं मिनेटमा अञ्जनले नै गोल गर्दै पुनः घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पुलिसका डिफेन्डर सन्तोष हेमरुनले १८ यार्ड बक्सको एजमा बल ह्यान्ड गरेसँगै मनाङले ‘प्रमिसिङ’ पोजिसनमा फ्रि–किक पाएको थियो । सोही फ्रि–किकमार्फत गरेको प्रहारलाई अञ्जनले सेकन्ड बारमा उत्कृष्ट फिनिस गरेका थिए ।

कप्तान अञ्जनको उत्कृष्ट गोलसँगै २–१ को अग्रता बनाएको मनाङका लागि सब्स्टिच्युट खेलाडी निशान लिम्बुले तेस्रो गोल गरे । अडेआजा सोमिडेको स्थानमा मैदान प्रवेश गरेका निशानले निर्धारित ९० मिनेटको खेल सकिन ७ मिनेट बाँकी रहँदा गोल गरेका थिए ।

मनाङका अफ्रिकन फरवार्ड ओलावाले आफिजले गरेको प्रहार पुलिसका गोलकिपर रोशनले फर्र्काएका थिए । सोही रिबाउन्ड बलमार्फत निशानले टाइट एन्गलबाट प्रहार गरेको भली गोलमा परिणत भएको थियो ।

पुलिस भने समान ५ खेलबाट ५ अंक जोडेर आठौं स्थानमा छ ।