सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलाे हाफमा मनाङ र पुलिसको १-१ को बराबरी

पोखरा । सहीद स्मारक ए डिभिजन लिगको मोफसलमा जारी मनाङ मरस्याङ्दी क्लब र नेपाल पुलिस क्लब पहिलो खेलको मध्यान्तरसम्म १-१ गोलको बराबरी खेलेका छन् ।

 पोखरा रंगशालालाई होम ग्राउन्ड बनाएसँगै एसियाली फुटबल महासंघबाट (एएफसी) लाइसेन्स पाएपछि मनाङले शहीद स्मारक लिगकै पहिलो होम म्याच खेहिरहेको छ ।

पोखरा रंगशालामा शनिबार दिउँसो २ बजे सुरु भएको खेलको १० मिनेट नबित्दै घरेलु टोली मनाङले अग्रता लिएको थियो । डिफेन्डर दिनेश राजवंशीले डिफेन्सिभ हाफबाट दिएको लामो पासलाई पुलिसको पेनाल्टी बक्सको एजमा नियन्त्रणमा लिँदै कप्तान अञ्जन विष्टले गोल गरेका थिए ।

पुलिसका गोलकिपर रोशन खड्का बल नियन्त्रणमा लिन अगाडि बढ्को फाइदा उठाउँदै मनाङका कप्तान अञ्जनले सहजै गोल गरेका थिए । अञ्जनको सो गोल सहीद स्मारक लिगअन्तर्गत उपत्यकाबाहिर भएको पहिलो गोलसमेत बनेको छ ।

सुरुआतदेखि नै प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता बनाए पनि मनाङले ३५औं मिनेटमा गोल खान पुगेको थियो । मनाङका डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निर कुमार राईमाथि खराब फाउल गरेसँगै विभागीय टोलीले पेनाल्टी पाएको थियो ।

सोही पेनाल्टीलाई पुलिसका फरवार्ड सुमन लामाले गोलमा परिणत गरेसँगै पुलिसले खेलमा बराबरी गरेको थियो । जारी लिगमा व्यक्तिगत तेस्रो गोल गरेका सुमनले मनाङका गोलकिपर विशाल सुनारले डाइभ गरेकोभन्दा विपरीत दिशामा सहज गोल गरेका थिए ।

सुरुआती चार खेलबाट ८ अंक जोडेको दोस्रो स्थानमा छ । यो खेलमा जित निकाले मनाङले शीर्ष स्थानमा दुई अंकको स्पष्ट अग्रता बनाउने छ ।