काठमाडौं । म्यानचेष्टर सिटीले आफ्ना प्रशिक्षक पेप ग्वार्डिओलाको विशेष ५००औं खेलमा लेष्टर सिटीलाई २–० ले हराएको छ ।
लगातार खराब प्रदर्शनमा गुज्रिरहेको सिटीलाई इङ्लिस प्रिमियर लिग फुटबलको यो जितले केही राहत मिलेको छ । साविक विजेता सिटीले पछिल्ला खेलहरुमा लय समात्नै सकेको थिएन ।
पाँच लिग खेलपछि सिटीले पहिलो जित निकालेको छ । अब, टोलीको ध्यान उपाधि भन्दा पनि शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने रहेको छ ।
हाल सिटीभन्दा शीर्ष स्थानको लिभरपुलले १४ अंकको अग्रता बनाएको छ । १८ खेलबाट लिभरपुलले ४५ तथा १९ खेलबाट सिटीको ३१ अंक छ ।
आइतबार रातिको जितपछि सिटी पाँचौ स्थानमा उक्लिएको छ । सिटीको जितमा ब्राजेलियन स्टार साभिन्हो र नर्वेजियन एर्लिङ हाल्यान्डले समान एक गोल गरेका थिए ।
‘यो जितले केही रातह मिलेको छ,’ ग्वार्डिओलाले भने, ‘हामी खेल जित्न सफल भएका छौं । यसले आगामी खेलमा मनोबल बढ्नेछ ।’
सिटीले अब अर्काे खेल होम मैदानमा वेष्टहम युनाइटेडसँग खेल्दैछ । त्यसअघि यो जितले सहज हुने पनि ग्वार्डिओलाको विश्वाास छ । ‘अब हामी अर्काे खेल होममा खेल्छौं । त्यसैले पनि यो जित धेरै अर्थ राख्छ ।’
प्रशिक्षक ग्वार्डिओलाले हाल्यान्डको गोल निस्केसँगै टोलीलाई खेल्न सहज वातावरण हुने बताएका छन् ।