कतार विश्वकप २०२२

इटालीबाट पुनरागमनको आशमा बालोटेली


मिलान ।टर्कीस क्लब एडाना डिमेस्पोरका प्रशिक्षक भेनेजो मोन्टेलाले इटालीका स्ट्राइकर मारियो बालोटेली कतार विश्वकप २०२२ छनोटको प्लेअफका लागि राष्ट्रिय टोलीमा नाटकीय पुनरागमनको आशमा रहेको बताएका छन् ।

सन् २०१८ पछि बालोटेलीले इटालीको राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका छैनन् । उनले इटालीबाट ३६ खेलमा १४ गोल गरेका छन् ।

रोबर्ट मान्चिनीले इटालीको प्रशिक्षण सम्हालेपछि बालोटेलीले तीन खेलमा अवसर पाएका छन् । उनले सन् २०१८ सेप्टेम्बरपछि इटालीको टोलीमा अवसर पाएका छैनन । 

बालोटेलीले यस सिजन एडाना डिमेस्पोरबाट पाँच गोल गरिसकेका छन् । उनको टोली १६ खेलको समाप्तीमा सुपर लिगको आठौं स्थानमा छ ।

एएस रोमाका पूर्व स्ट्राइकर समेत रहेका मोन्टेलाले बालोटेलीले इटालीको राष्ट्रिय टोलीमा अवसर पाउनु पर्ने बताए ।

‘बालोटेली विशेष क्षमता भएका खेलाडी हुन् । उनी इटालीबाट पुनरागमन गर्न आतुर छन्’, मोन्टेलाले भने, ‘उनी आफ्नो स्वभाविक खेलमा केन्द्रित छन् । उनले प्रशिक्षणका साथै मैदानमा पनि आफूलाई प्रमाणित गर्दै आएका छन् । मान्चिनीलाई प्रभाव पार्न बालोटेलीसँग अझै तीन महिना बाँकी छ ।’

पाँच महिनाअघि युरोपियन च्याम्पियनसिप जितेको इटालीले समूहको शीर्ष स्थानमा बस्दै विश्वकपको टिकट भने काट्न सकेन ।

इटालीले निर्णायक मानिएको पोर्चुगलविरुद्धको प्लेृअफ भिडन्त पक्का गर्न मार्च २४ मा नर्थ मासेडोनियालाई पराविजत गर्नुपर्छ ।

समूह चरणमा अपराजित रहेपनि इटाली उपविजेता बन्दा स्विट्जरल्यान्डले विजोतका रुपमा कतार विश्वकप २०२२ को टिकट काट्यो । 

इटालीले सन् २०१८ को रुस विश्वकपमा पनि स्थान बनाउन सकेको थिएन ।