कतार विश्वकप २०२२

ओलन्सो उरुग्वेका नयाँ प्रशिक्षक

मोन्टेभिडियो । उरुग्वेले इन्टर मयामीका पूर्व प्रशिक्षक डिएगो ओलन्सोलाई मंगलबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

उरुग्वेले गत महिना लगातार ओस्कार ताबरेजसँगको १५ वर्षे सहकार्यमा पूर्णविराम लगाएको थियो ।

कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा लगातार चार हार व्यहोरेको भन्दै उरुग्वेले ताबरेजलाई बर्खास्त गरेको थियाे । १० टोली सहभागी छनोटमा उरुग्वे सातौ स्थानमा छ । दक्षिण अमेरिकी छनोटबाट शीर्ष चार टोलीले कतार विश्वकप २०२२ को टिकट पक्का गर्नेछन् ।

शीर्ष स्थानको ब्राजिल र दोस्रो स्थानको अर्जेन्टिनाले विश्वकपमा स्थान बनाइसकेको छ । २३ अंकसहित तेस्रो स्थानमा बसेको इक्वेडरको पनि विश्वकप छनोट सम्भावा बलियो छ । कोलम्बिया र पेरु समान १७ अंकसहित क्रमशः चौथो र पाँचौ स्थानमा छन् । छ्रैटौं स्थानको चिली र सातौं स्थानको उरुग्वेको सामान १६ अंक छ । 

त्यसैले चौथो स्थानमा बस्दै कतार विश्वकपको टिकट काट्ने उरुग्वेको सम्भावना पनि जीवित छ ।

ओलन्सोको प्रशिक्षणमा उरुग्वे पहिलो खेल जनवरी २७ मा नवौ स्थानको पराग्वेविरुद्ध विश्वकप छनोटमा खेल्नेछ ।