साफ यु-१९ महिला च्याम्पियनसिप

श्रीलंकामाथि सहज जितको लक्ष्यमा नेपाल

काठमाडौं । यु १९ साफ च्याम्पियन्सिप अन्तर्गत बुधबार हुने दोस्रो खेलमा नेपाल श्रीलंकाको सामना गर्दा स्पष्ट तीन अंक जोड्दै शीर्ष दुईको दाबेदारी जीवित राख्न चाहन्छ । 

पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । आफ्नो दुई खेलमा फराकिलो हार व्यहोरेका कारण पनि श्रीलंका नेपालका लागि सहज प्रतिद्धन्द्धी बन्न सक्छ । 

पहिलो खेलमा भुटानलाई ५-० को नतिजा सुम्पिएको श्रीलंका दोस्रो खेलमा बंगलादेशसँग ६-० ले निराश भएको थियो ।

एक अंक जोडेको नेपाल चौथो स्थानमा छ । दुई खेल खेलेको बंगलादेश एक जित र एक बराबरीको नतिजापछि चारअंकसहित शीर्ष स्थानमा छ । समान एक खेल खेलेका भारत र भुटान समान तीन अंक बटुल्दैै क्रमशः तेस्रो र चौथो स्थानमा छन् । दुई खेलमा दुवै खेल गुमाएको श्रीलंंका विना अंक पाँचौ स्थानमा छ । 

पाँच टोलीको सहभागिता रहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।