इङ्लिस प्रिमियर लिग

कोन्टेलाई आक्रामक रणनीति अपनाउन लुइस साँको सुझाव

लन्डन । फ्रान्सका पूर्व स्ट्राइकर लुइस सले प्रशिक्षक एन्टोनी कोन्टेले टोटनहमालाई स्वभाविक लयमा फर्काउन आक्रामक रणनीति अपनाउनु पर्ने बताएका छन् ।

इन्टर मिलान, युभेन्टस र चेल्सीमा रहँदा उपाधि जितेका कोन्टेले टोटनहमको प्रशिक्षण सम्हाल्नु आफ्नो प्रशिक्षण जीवनकै कठिन चुनौतीको रुपमा लिएको बताउँदै आएका छन् ।

टोटनहमले इङ्लिस प्रिमियर लिगको सातौं स्थानमा बस्दै गत सिजनको अन्त्य गरेको थियो ।  जस माउरिन्हो र नुनो स्प्रिन्टो सान्टोको प्रशिक्षणमा स्वभाविक लय भेट्टाउन नसकेको टोटनहम कोन्टेको प्रशिक्षणमा विगतको साख फर्काउन चाहन्छ । 

कोन्टेको प्रशिक्षणमा टोटनहमले प्रिमियर लिगमा पछिल्लो चार खेलमा १० अंक जोडेको छ । तर युरोपा कन्फरेन्स लिगमा भने कोन्टेको टोली मुरासँग निराश भएको थियो ।

२०१२ को सिजन टोटनहमबाट खेलेका सले कोन्टेसँग आक्रामक रणनिती अपनाउनुको विकल्प नभएको बताए ।

‘अझै टोटनहमले धेरै कुराहरु गर्न बाँकी छ’,उनले भने, ‘टोली मानसिक रुपमा थकित देखिएको छ । टोलीले एक रुपको प्रदर्शन गर्न सकिरहेको छैन । प्रशिक्षकले पनि सही रणनीति बुन्न सकिरहेका छैनन । तर खेलाडीले आक्रामक प्रदर्शन नगरेसम्म प्रशिक्षकको रणनीतिले काम गर्दैन । राम्रो खेलाडीले मात्र सुखद नतिजा आउछ भन्ने छैन । त्यसका लागि टोलीले लिएको रणनीति मैदानमा सफल हुनुपर्छ ।’

टोटनहमले बिहीबार प्रिमियर लिगमा लेस्टर सिटीको सामना गर्दैछ ।