सहिद स्मारक ‘ए’ डिभिजन लिग

लिगको चौथो चरण : घट्यो गोल औसत

काठमाडौं । शीर्षताको होडसँगै रेलिगेसनबाट बाच्ने प्रतिस्पर्धालाई पनि रोचक मोडमा पुर्याउँदै सहिद स्मारक ए डिभिजन लिगमा सोमबारबाट चौथो चरणका खेलहरु सम्पन भएका छन् ।

चौथो चरणको समाप्तीमा साविक विजेता मच्छिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लब समान १० अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् । जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबले गोलरहित बराबरी खेलेको खेलसँगै चौथो चरण समापन भएको थियो ।

चौथो चरणमा आएर लिगमा ५० गोल पूरा भयो । संकटाका निरज बस्नेतले पुलिसविरुद्ध गरेको गोल जारी लिगको ५०औैं गोल थियो ।

त्यस्तै चौथो चरणमा स्ट्राइकर विमल घर्तीमगरले जारी लिगमा आफ्नो गोल खाता खोले । विमलले हिमालयन शेर्पाविरुद्ध टोलीका लागि तेस्रो गोल गरेका थिए । २०७६ को लिगमा प्रतिबन्धका परेका विमलले आर्मीविरुद्ध लिगको अन्तिम खेल मात्र खेल्न पाएका थिए ।

घट्यो गोल औसत

चौथो चरणको समाप्तीमा अघिल्लो चरणको तुलनामा गोल औसत आधा घटेको छ । चौथो चरणमा १.२८ को औसतमा ९ गोल भयो । जुन तेस्रो चरणको गौल औसतको तुलनमा आधा हो । तेस्रो चरणमा २.५७ को औसतमा  १८ गोल भएको थियो ।

लिगको पहिलो चरणमा २.२८ को औसतमा १९ गोल भएको थियो । दोस्रो चरणमा भने १ को औसतमा मात्र ७ गोल भएको थियो ।

चौथो चरणमा मच्छिन्द्रले सबै भन्दा धेरै तीन गोल गर्यो भने मनाङ र आर्मीले दुई गोल गरे । संकटा र न्युरोड टिम (एनआरटी) ले समान एक गोल गरे । हिमालयन शेर्पा, नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज, जावलाखेल, एपिएफ, सातदोबाटो युथ क्लब, च्यासल युथ क्लब र फ्रेन्डस चौथो चरणमा बललाई जाली चुमाउन असफल भए ।

मच्छिन्द्र र मनाङको होड

चौथी चरणमा हिमालयन शेर्पा क्लबविरुद्धको खेलमा प्रतिस्पर्धा गर्दै शीर्ष टोली मछिन्द्र एफसीका खेलाडी (रातो जर्सी)। तस्बिर : अल्दिप तोलडगे/खेलाडी

चौथो चरणको समाप्तीमा मच्छिन्द्र र मनाङबीच शीर्षताको होड बढेको छ । चार खेलमा समान तीन जित र एक बराबरीको नतिजापछि मच्छिन्द्र र मनाङ समान १० अंकका साथ  पहिलो र दोस्रो स्थानमा छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातौं चरणको समाप्तीमा शीर्ष स्थानमा रहने टोली नेपालको लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेल्न जाने जनाइसकेको छ ।

मच्छिन्द्रले पाँचौ चरणमा संकटाको सामना गर्दा मनाङले घरेलु मैदानको रुपमा पोखरा रंगशालमा पुलिस क्लबलाई आतित्य प्रदान गर्नेछ । नेपाली लिग फुटबलमा कुनै पनि क्लबले कुनै रंगशालालाई आफ्नो घरेलु मैदानको रुपमा प्रयोग गर्न लागेको यो पहिलो पटक हो ।

छैटौ चरणमा भने मछिन्द्र र मनाङ नै दशरथ रंगशालमा आमने सामने हुँनेछन् । यो खेलको नतिजाले शीर्षताको प्रतिस्पर्धामा कस्ले बाजी मार्ने भन्ने थप प्रस्ट पार्नेछ । सातौ चरणमा मच्छिन्द्रले पुलिसको सामना गर्दा मनाङले पोखरामा ब्रिगेड ब्वाइजलाई आतिथ्य प्रदान गर्नेछ ।

चार खेलमा आठ अंक जोडेको त्रिभुवन आर्मी क्लबले मच्छिन्द्र र मनाङलाई पछ्याइरहेको छ । समान आठ अंक जोडेको संकटा चौथो स्थानमा छ भने सातदोबाटो सात अंकका साथ पाँचौ स्थानमा छ । समान चार खेलमा समान पाँच अंक बटुलेका थ्री स्टार, ब्रिगेड ब्वाइज, पुलिस र एनआरटी क्रमशः छैटौं, सातौ, आठौं र नवौं स्थानमा छन् । चार अंक जोडेको च्यासल दशौ स्थानमा छ भने समान दुई अंकसहित फ्रेन्डस र हिमालयन शेर्पा ११औं र१२औं स्थानमा छन् । समान एक अंक जोडेका जावलाखेल र एपिएफ १३औं र चौधौं स्थानमा छन् ।

चौथो चरणअन्तर्गत एपिएफ र थ्री स्टारबीचको खेल । तस्बिर : कबिर महर्जन/खेलाडी

थ्री स्टारको सकस

च्यासल युथ क्लबमाथि ३-० को सानदार जितसहित लिगमा उत्कृष्ट सुरुआत गरेको थ्री स्टारले त्यसपछिका खेलमा भने उल्लेख्य प्रदर्शन गर्न सकेको छैन ।

दोस्रो खेलमा सातदोबाटोसँग १-० ले स्तब्ध भएको थ्री स्टार तेस्रो खेलमा फ्रेन्डस र चौथो खेलमा एपिएफसँग अंक बाढ्न बाध्य भएको थियो ।

एनआरटीको पहिलो जित, सातदोबाटो र पुलिसको अपराजित यात्रामा पूर्णविराम

संकटाले पुलिस क्लबमाथि १-० को जितका साथ जारी लिगमा अपराजित यात्रा कायम राख्दा सातदोबाटोको अपराजित यात्रामा भने चौथो चरणमा आएर पूर्णविराम लाग्यो । पुलिसको जारी लिगमा यो पहिलो हार हो ।

सातदोबाटो चौथो खेलमा एनआरटीसंग पराजित भयो । एनआरटीको जारी लिगमा यो नै पहिलो जित थियो । पहिलो खेलमा फ्रेन्डससँग गोलरहित बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री स्टार र तेस्रो खेलमा एपिएफमाथि सानदार जित हात पारे पनि चौथो चरणमा भने त्यो लय कायम राख्न सकेन ।

जावलाखेल र एपिएफ

तस्बिर : कबिर महर्जन/खेलाडी

जावलाखेल क्लब र एपिएफले चौथो चरणमा आएर मात्र अंकको खाता खोले ।

पहिलो र दोस्रो खेलमा मनाङ र पुलिसलाई समान १-० को नतिजा सुम्पिएको जावलाखेलले तेस्रो खेलमा मच्छिन्द्रलाई २-० को नतिजा सुम्पिएको थियो । चौथो चरणको खेलमा आफ्नै टोलको अर्को क्लब ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै जावलाखेलले अंक खाता खोलेको हो । यद्धपी जावलाखेलले गोलको खाता भने अझै खोल्न सकेको छैन ।

एपिएफले पनि थ्री स्टारलाई गोलरहित बराबरीमा रोक्दै अंकको खाता खोल्यो । एपिएफले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई ३-२, दोस्रो खेलमा च्यासललाई १-० र तेस्रो खेलमा सातदोबाटोलाई ४-१ को नतिजा सुम्पिएको थियो ।