स्पेनिस ला लिगा

संन्यासको संघारमा अग्विरो

मड्रिड । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्विरोले खेलजीवनमा पूर्णविराम लगाउने संघारमा पुगेका छन् । 

यसै सिजन इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट  बार्सिलोनामा अनुबन्धन भएका अग्विरो ६ महिना नबित्दै सबै खाले खेलजीवनबाट संन्यास लिने योजनामा रहेको बताइएको छ । 

मुटुको समस्यका कारण उनी पछिल्लो तीन महिनादेखी मैदान बाहिर रहँदै आएका छन् । लामो समयको उपचारपछि पनि स्वास्थमा उल्लेख्य सुधार नआएपछि उनले खेलजीवनमा पूर्णविराम लगाउन लागेको बताइएको छ । 

स्पेनिस क्लब बार्सिलोनामा आएपछि चोट र स्वास्थ्य समस्याबाट गुज्रिरहेका ३३ वर्षीया अग्विरोले क्लबबाट मात्र चार खेल खेलेका छन् । जसमा उनले एक गोल गरेका छन् ।

गत अक्टोबरमा ला लिगाअन्तर्गत आल्भेसविरुद्धको खेल दौरान छातीमा समस्या भएपछि उनलाई अस्पताल पुर्याइएको थियो । पशिक्षणका क्रममा उनको मुटमा समस्या देखिएको थियो ।

अग्विरोले सबै प्रतियोगिता गरेर सात सय ८६ खेलमा चार सय २७ गोल गरेका छन् । 

उनले अर्जेन्टिनाबाट एक सय एक खेलमा ४१ गोल गरेका छन् ।