स्पेनिस ला लिगा

बार्सिलोलाई स्वभाविक लयमा फर्काउने पेड्रीको आशा

मड्रिड । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका मिडफिल्डर पेड्रीले सोमबार गोल्डेन ब्वाई’ को अवार्ड जितेपछि क्लबलाई पुरानो लयमा फर्काउने आशा व्यक्त गरेका छन् ।

गत महिना युरोपको २१ वर्ष मुनि उमेर समूहमा सर्वाेत्कृष्ट खेलाडीको लागि भएको मतदानमा १९ वर्षीया स्पेनिस मिडफिल्डर पेड्रीले बोरुसिया डर्टमन्डका मिडफिल्डर जुड बेल्लिनघमलाई एक सय ९९ अंकको अन्तरमा पछि पार्दै गोल्डेन ब्वाई’ को उपाधि पक्का गरेका थिए ।

सेप्टेम्बरमा बार्सिलोनाबाट डेब्यु गरेका पेड्रीले बाँकी खेलाडीको तुलनामा सर्वाधिक ५२ खेल खेलेका छन् । यस्तै युरोपियन च्याम्पियनसिप २०२० मा स्पेनको प्रतिनिधित्व गर्ने पेड्री कान्छा खेलाडी थिए ।

बार्सिलोना गत साता बायर्न म्युनिखसँग पराजित भएपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको थियो । बार्सिलोना २००३- ४ को सिजनपछि च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको यो नै पहिलो पटक हो ।

पेड्रीले बार्सिलोना विश्वको उत्कृष्ट क्लब भएको दाबी गर्दै शीर्ष स्थानका योग्य भएको बताए ।

‘बार्सिलोनाबाट खेल्नु मेरो लागि सपना थियो र त्यो पूरा भएको छ । बार्सिलोना विश्वको उत्कृष्ट क्लब हो । यो कुरालाई हामीले मैदानमा देखाउनुपर्छ । हामी शीर्ष स्थानका लागि योग्य छौ,’ उनले भने, ‘मलाई क्लबले गरेको विश्वासप्रति क्लबका अध्यक्ष जोआन लार्पाेटालाई धन्यवाद दिन चाहन्छु । बार्सिलोना मलाई मनपर्ने क्लब हो र म क्याम्प नोउमा सन्तुष्ट छु ।’

बार्सिलोनाबाट ‘गोल्डेन ब्वाई’ को उपाधि जित्ने पेड्री पहिलो खेलाडी हुन् । गत वर्ष यो उपाधि बोरुसिया डर्टमन्टका इर्लिङ हालान्डले जितेका थिए ।

२००३ मा स्पेनिस मिडफिल्डर इस्कोले यस उपाधिलाई जितपछि कुनै पनि  स्पेनिस खेलाडीले यो उपाधि जितेका थिएनन् ।