इङ्लिस प्रिमियर लिग

खेलाडीले नभनेसम्म उनका एजेन्टेले गरेको प्रचारबाजीको अर्थ हुन्नः राल्फ रागनिक

लन्डन । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक राल्फ रागनिकले एन्थोनी मार्सियललाई क्लब छाड्ने इच्छा भएमा एन्जेमार्फत भन्नु भन्दा पनि आफूलाई व्यक्तिगत रुपमा भेटेर सो कुरा भन्न सुझाएका छन् ।

मार्सियलका एजेन्ट फिलिपे ल्याम्बोलेले शुक्रबार उनले ओल्ड ट्राफोर्डमा खेल्ने अवसर धेरै नपाएको भन्दै जनवरी सरुवामा अन्यत्र जाने बारेमा छलफल भैरहेको जनाएका थिए ।

यस सिजन मार्सियलले सबै खाले प्रतियोगिता गरि युनाइटेडबाट तीन सय ५८ मिनेट मात्र मैदान उत्रिएका छन् । उनी यस सिजन युनाइटेडबाट चार खेलमा मात्र सुरुआती ११ मा मैदान उत्रिएका छन् ।

‘एन्थोनी मार्सियल जनबरीमा ओल्ड ट्राफोर्ड छोड्न चाहन्छन्’, ल्याम्बोलेले भने, ‘उनले खेल्ने पर्याप्त अवसर पाएनन् । उनी यहाँ बस्न चाहदैनन् । म यसबारे छिट्टै क्लबसँग सल्लाह गर्नेछु ।’

तर मार्सियलले क्लब छोड्ने खबर हालै मात्र ओल्ड ट्राफोर्डमा अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका साग्निका लागि आश्चर्यको विषय बनेको हो ।

‘म कुनै खेलाडीको एजेन्टसन्ग कुरा गर्दिन’ ,रागनिकले भने, ‘खेलाडीले प्रशिक्षक र क्लबसँग केही भनेकै छैन । मार्सियलका एजेन्टले संचारमाध्यममा के भने भन्ने कुराले खासै अर्थ राख्दैन । खेलाडी स्वयंमले क्लब छोड्ने वा बस्ने बारे बताउनु पर्छ । खेलाडीले प्रचारबाजी गर्नु भन्दा पनि प्रशिक्षक र क्लबको बोर्ड समक्ष आफ्नो माग र इच्छा व्यक्त गर्नु पर्यो ।’

तत्कालिन अन्तरिम प्रशिक्षक माइकल केरिकको प्रशिक्षणमा मार्सियल च्याम्पियन्स लिग अन्तर्गत भियारियालविरुद्धको खेलमा मैदान उत्रिएका थिए । रागनिकले क्लब प्रशिक्षण सम्हालेपछिका तीन खेलमा मार्सियलले अवसर पाएका छैनन ।

‘अभ्यास दौरान घुँडामा समस्या भएको जानकारी गराउँदै मार्सियलले नै आफूलाई इङलिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसविरुद्धको खेलमा टोलीमा नराख्न आग्रह गरेका थिए’, रागनिकले भने ।

रागनिकको आगमनपछि युनाइटेडले प्रिमियर लिगमा पछिल्लो दुवै खेल जितेको छ । क्रिस्टल प्यालेस र नर्विच सिटीमाथि युनाइटेडले समान १-० को जित हात पारेको थियो ।