सहिद स्मारक ए डिभिजन लिग

जावलाखेलले अंक खाता खोल्यो

काठमाडौं । जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा अंक खाता खोलेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न चौथो चरणको अन्तिम खेलमा जावलाखेलले ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै अंक खाता खोलेको हो ।

जावलाखेल चार खेलमा एक अंकसहित १३औं स्थानमा छ भने समान खेलमा समान एक अंक जोडेको एपिएफ चौधौ स्थानमा छ । एपिएफले आइतबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै अंक खाता खोलेको थियो ।

जारी लिगमा अहिले सम्म  जावलाखेल, एपिएफ र फ्रेन्डस् क्लबले जित हात पार्न सकेका छैनन् ।

ब्रिगेड ब्वाइज भने ५ अंकका साथ नवौ स्थानमा छ ।

दुवै टोलीले गोलका केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

१५औं मिनेटमा अनगुना जुनियरले बिबिसीका गोलकिपर अन्जल श्रेष्ठ बिट भैसकेको अवस्थमा बक्स बाहिरबाट गरेको प्रहार बाउन्स हुँदै बाहिरिदा जावलाखेलले अग्रताको अवसर गुमाएको थियो ।

३०औं जावलाखेलका रुपबहादुर लामाको पासमा जुनियरले गरेको पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

५८औं मिनटमा पेनाल्टी बक्स भित्रबाट लोउक एनजीमीले गरेको प्रहार ब्रिगेडका गोलकिपर अन्जलले  विफल पार्दा जावलाखेलले अग्रताको अवसर गुमायो ।

६३ औं मिनेटमा भने ब्रिगेड ब्वाइजका भुवन बस्नेतले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्र सिंह थापाले सहजै नियन्त्रणमा लिए ।