काठमाडौं । रक्षापङ्क्तिमा उब्जिएको चोटको समस्या समाधान गर्न ट्रान्सफर मार्केटमा प्रवेश गर्ने तयारीमा रहेको रियाल मड्रिडले पूर्व कप्तान सर्जियो रामोसलाई क्लबमा भित्र्याउन अनिच्छुक देखिएको छ ।
रियाल मड्रिडलाई प्रमुख खेलाडीद्धय इडर मिलिटाओ र औरेलियन चुवामेनीको चोटले सताएको छ । ब्राजिलियन फरवार्ड करिब ९ महिना मैदान बाहिर रहने अनुमान गरिएको छ भने फ्रेन्च मिडफिल्डर चुवामेनी डिसेम्बरमा मात्र मैदान फर्किने लगभग पक्का छ । अन्य रक्षकहरु डेविड आलाबा र ज्याकोबो रामोन पनि चोटका कारण मैदान बाहिर छन् ।
यस्तोमा रियाल छिट्टै नै भरपर्दो रक्षक भित्र्याउने दाउमा छ । ओसासुनाविरुद्धको खेलमा मिलिटाओको घुँडामा चोट लागेको थियो । मिलिटाओ लामो समय मैदान बाहिर रहने भएपछि रियालका समर्थकले रामोसलाई मिलिटाओको विकल्पका रुपमा हेरेका थिए । तर, क्लब भने रामोसलाई भित्र्याउन चाहँदैन ।
रामोस गत सिजन बाल्यकालको क्लब सेभिलाको जर्सीमा देखिएका थिए । सम्झौता नवीकरण नगरेका रामोस सेभिला छाडेयता क्लबविहीन छन् । त्यसअघि रामोसले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा दुई वर्ष बिताएका थिए ।
बर्नाबाउमा १६ वर्ष बिताएपछि ३८ वर्षिय रामोसले २०२१ मा रियाल छाडेका थिए । रियालमा उनले ६७१ खेल खेल्दा १०१ गोल गरे । उनले यो लामो अवधिमा पाँच ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
रामोसलाई क्लबमा भित्र्याउन नचाहेपछि रियाल समर्थक निराश देखिएका छन् । उनीहरु एक लिजेन्दको अपमान भएको भनिरहेका छन् ।