च्याम्पियन्स लिग

युरोपा लिगमा उत्कृष्ट प्रदर्शन गर्छौः डुवान जापाटा

मिलान । एट्लान्टाका स्ट्राइकर डुवान जापाटाले भियारियालविरुद्धको समूह चरणको अन्तिम खेलमा तीन अंक जोड्न सक्दो प्रयास गरे पनि असफल भएको बताएका छन् ।

बिहीबार च्याम्पियन्स लिग अन्तर्गत समूह ‘एफ’ मा एट्लान्टा भियारियालसँग ३-२ ले पराजित भएको थियो । यस समूहबाट ६ खेलमा ११ अंकसहित म्यानचेस्टर युनाइटेड भने यसअघि नै नकआउट चरण प्रवेश गरिसकेको थियो । 

बुधबारका लागि तय यी दुई टोलीबीचको खेल भारी हिमपातका कारण बिहीबारलाई सारिएको थियो ।

एट्लान्टामाथिको जितपछि भियारियाल १० अंकसहित दोस्रो स्थानमा बस्दै नकआउट चरण प्रवेश गर्दा समान खेलमा ६ अंक जोडेको एट्लान्टा युरोपा लिगमा झरेको छ ।

‘पहिलो हाफमा भियालारियालले २-०को अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु भएको ६ मिनेटमा सो अग्रता ३-० मा पुग्यो,' जापाटाले भने, 'त्यसपछि नतिजा हाम्रो हातबाट गयो । हामीले राम्रो प्रदर्शन गर्दै दुई गोल गरेपनि त्यो खेलमा फर्कन पर्याप्त भने भएन ।'

‘हामी दुखी छौ । हामीले मैदानमा सक्ने जति सबै गरेको थियौ ,’ उनले भने, ‘हामी समर्थकप्रति क्षमाप्रार्थी छौं । किनभने हामी अघि बढ्न चाहन्थ्यौं तर सफल भएनौं । अब टोलीको लक्ष्य युरोपा लिगमा उत्कृष्ट प्रदर्शन गर्नु रहनेछ ।'