सहिद स्मारक ‘ए’ डिभिजन लिग

आर्मीलाई अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जारी खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले च्यासल युथ क्लबविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।

१९औं मिनेटमा स्ट्राइकर जर्ज प्रिन्स कार्कीले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो । मिडफिल्डर टंक बस्नेतको पासलाई जर्ज प्रिन्सले हेडरमार्फत जाली चुमाएका थिए । 

३६औं मिनेटमा जगजित श्रेष्ठले आर्मीको अग्रता दोब्बर पारेका थिए । गौतम श्रेष्ठको क्रसमा अनमार्क रहेका जगजितले बललाई पोस्टको दिशा दिएका थिए ।

आर्मी तीन खेलमा एक जित र दुई बराबरीपछि पाँच अंकसहित छैटौं स्थानमा छ । 

समान खेलमा एक जित, एक हार र एक बराबरीको नतिजा निकालेको च्यासल चार अंकका साथ नवौं स्थानमा छ ।