च्याम्पियन्स लिग

सिटी लिपजिकसँग स्तब्ध , पिएसजीकाे सहज जित

पेरिस । पेरिस सेन्ट जर्मन (पिएसजी) ले च्याम्पियन्स लिगमा मंगलबार क्लब ब्रुजलाई हराउँदा  समूह ‘ए’ को विजेता म्यानचेस्टर सिटी भने आरबी लिपजिकसँग स्तब्ध भएको छ ।

समूह ‘ए’ अन्तर्गत मंगलबार भएको खेलमा शीर्ष टोली सिटी लिपजिकसँग २-१ ले निराश भएको हो ।

यस समूहबाट सिटी विजेता र पिएसजी उपविजेताका रुपमा यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेका थिए ।

सिटी ६ खेलमा १२ अंकसहित शीर्ष स्थानमा बस्दा समान खेलमा ११ अंक बटुलेको पिएसजी दोस्रो स्थानमा रह्यो । सिटीमाथि जित हात पारेको लिपजिक भने सात अंकसहित तेस्रो र क्लब ब्रुज चार अंकसहित चौथो स्थानमा रह्यो ।

२४औं मिनेटमा डोमिनिक जोवोस्ज्लाईको गोलमा लिपिजिकले अग्रता लियो । ७१औं मिनेटमा आन्द्रे सिल्भाले लिपजिकको अग्रता दोब्बर पारे । ७६औं मिनेटमा रियाद महारेजले सिटीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन । 

खेल सकिन आठ मिनेट बाँकी रहँदा काइले वाल्कर रातो कार्डको दर्शन गर्दैै मैदानबाट बाहिरिएपछि सिटीले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

पिएसजीले भने क्लब ब्रुजलाई ४-१ ले  हरायो । पिएसजीको जितमा केलियन एमबाप्पेले र लियोनल मेसीले समान दुई गोल गरे । क्लब ब्रुजका म्याटस् रिट्सले सान्त्वना एक गोल गरे ।