काठमाडौं । कार्तिक १ देखि १४ गतेसम्म हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गरायो ।
त्रिपुरेश्वरस्थित रंगशालामा हुने प्रतियोगितामा नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् ।
सहभागिता टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान र साबिक विजेता बंगलादेश तथा समूह ‘बी’ मा नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।
प्रतियोगितामा सहभागी टोलीलाई एन्फा मुख्यालय, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले बताए।
प्रतियोगिताको अनुमानित बजेट ४ करोड ६० लाख ८०० रुपैयाँ छ।
प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै छन् । नेपालले कार्तिक २ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
नेपालले राजेन्द्र तामाङमा नेतृत्वमा तयारी गरिरहेको छ । हाल बन्द प्रशिक्षणमा २७ खेलाडी छन् ।