काठमाडौं । ओपनरद्धय विनोद भण्डारी र सैफ जैबको शतकीय साझेदारीप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा जनकपुर रोयल्सलाई १८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङको निर्णय लिएको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा....विकेट गुमाउँदै १८४ रनको योगफल तयार पार्यो ।
सुदूरपश्चिमका लागि विनोद र जैबको जोडीले पहिलो विकेटको लागि ११७ रनको साझेदारी गरे । जैबले ४३ बलमा आठ चौका र दुई छक्कासहित ६९ रनको योगदान गर्दा विनोदले ३१ बलमा एक चौका र तीन छक्कासहित ४१ रन बनाए । त्यस्तै तेस्रो नम्बरका ब्याटर ब्रेन्डन म्याकमुलन र चौथो नम्बरका हर्मीत सिंहले समान १४ रन बनाए । यसैगरी मध्यक्रमका ब्याटर स्कट कुगुलेइनले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जनकपुरका लागि स्पिनर मोहम्मद मोहसिनले चार ओभरमा ४० रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै तीव्र गतिका बलर किशोर महत्तोले तीन ओभरमा २५ रन खर्चिँदै दुई विकेट लिए । तीव्र गतिका बलर जिमी निसम सबैभन्दा महँगा बलर सावित भए । एक विकेट लिएका निसमले चार ओभरमा ४४ रन खर्चिए । एक विकेट लिएका स्पिनर ललित राजवंशीले चार ओभरमा मात्र १५ रन खर्चिए ।
ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा ४८ रन जोडेको सुदूरपश्चिमले १०.१ ओभरमा एक सय रन पूरा गरेको थियो ।
जनकपुरका लागि किशोरले जैबको विकेट लिँदै ब्रेक थ्रु दिलाएका थिए ।
१२औं ओभरको अन्तिम बलमा सुदूरपश्चिमले जैबलाई गुमायो । जैब किशोर महत्तोको बलमा लङ अनमा ललितबाट क्याच भए । स्कोरबार्डमा एक रन पनि जोडिन नपाउँदै जनकपुरले विनोदको विकेट हासिल गर्यो । विनोद ललितको बलमा बोल्ड भए ।
१५औं ओभरको अन्तिम बलमा हर्मीत मोसिनको बलमा स्कावयर लेगमा हेमन्त धामीबाट क्याच भए । लगत्तैको ओभरको अन्तिम बलमा म्याकमुलन निसमको बलमा बोल्ड भए ।
१९औं ओभरको पहिलो बलमा ऐरी मोशिनको बलमा दीप स्कावयर लेगमा हेमन्तबाट क्याच भएसँगै सुदूरपश्चिमका पाँच खेलाडी पेभिलियन फर्किए । त्यही ओभरको पाँचौं बलमा आरिफ सेख दीप मिड विकेटमा ललितबाट क्याच भए ।
सुदूरपश्चिमले सातौं विकेटको रुपमा कुगुलेइनलाई गुमायो । २०औं ओभरको पहिलो बलमा कुगुलेइन किशोरबाट बोल्ड भए । चौथो बलमा किशोरले नरेश बुढाऐरलाई शेर मल्लबाट क्याच गराउँदा अन्तिम बलमा इशान पाण्डे मोसिनको थ्रोमा विकेटकिपर लाहिरु मिलन्थाबाट रन आउट भए ।