काठमाडौं । ‘यस्तो लापरवाही गर्छन भन्ने थाहा भएको भए बच्चा नै पठाउँदैनथ्यौं । उनीहरुको लापरवाहीले छोरा गुमाउनुपर्यो,’ पहिरोमा पुरिएर गत शनिबार मकवानपुरको सिस्नेरी एकेडेमीमा रहेका छोरा प्रियान्स आचार्यलाई गुमाएका टिका आचार्यको मन अझै सम्हालिएको छैन ।
छोराको अनुहारमा भविश्यको राष्ट्रिय खेलाडी देखेका आचार्यले अविरल वर्षापछि शनिबार आएको पहिरोमा पुरिएपछि छोरार्ला गुमाउनुपरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर सिस्नेरीस्थित वत्सलादेवी माविसँगको सहकार्यमा सञ्चालन गरेको एकेडेमीका ६ बालकले प्रियान्ससँगै शनिबार ज्यान गुमाएका थिए ।
कुलेखानी ड्याममा पानीको अवस्थाले खतराको तह पार गरेको भन्दै अघिल्लो दिनदेखि सूचना जारी गरिएको थियो । तर एकेडेमी व्यवस्थापनले शनिबार बिहान ‘सुरक्षित स्थान’तर्फ लान खोज्दा ढिस्को खसेर ६ बालकले ज्यान गुमाएका थिए । मुल बाटो नलगेर वालकहरुलाई अर्कै बाटो हुँदै लैजाने क्रममा पहिरोले पुरेको भन्दै एकेडेमी व्यवस्थापनको व्यापक आलोचना भइरहेको छ ।
‘कुलेखानी ड्यामले सूचना जारी गरेपछि हामीलाई यहाँ निक्कै डर भयो । हामीले तारम्तार फोन गरेर बाबुहरुको हालखबर सोध्यौं । सुरुमा राम्रै छ तपाईहरु चिन्ता नगर्नुस भने । पछि त फोन पनि उठाउन छोडे । बाबुहरु बितेको पनि उनीहरुले हामीलाई खबर गरेनन्, समाचारमा हेरेर थाहा पाउनुपर्यो,’ शोकले काँपेको श्वरमा आचार्यले खेलाडी डटकमसँग भने, ‘बरु उनीहरुले सक्दैनौं भनेको भए हामी आफ्नो बच्चालाई सुरक्षित रुपमा ल्याउथ्यौं नी ।’
एन्फा, स्कुल र एकेडेमी व्यवस्थापनको लापरवाहीका कारण आफूले छोरा गुमाउनुपरेको बताउँदै आचार्यले थपे, ‘उनीहरुले त्यहाँ खतरा छ भन्नेवित्तिकै गम्भीरतापूर्वक कदम चालेको भए हामीले आफ्ना प्राणभन्दा प्यारा बच्चा गुमाउनुपर्दैनथ्यो ।’
एन्फा कार्यसमितिले आइतबार बसेको भर्चुअल बैठकमार्फत घटनामा परि निधन भएका सबै बालकको परिवारलाई जनही आठ लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो । एन्फा नेतृत्व त्यही रकम दिन सोमबार कलंकी खड्का गाउँस्थित आचार्य निवाश पुग्दा प्रियान्सका पिताले त्यो रकम अस्वीकार गरे ।
‘उहाँहरुले चेक लिएर आउनुभएको थियो । एन्फाका अध्यक्ष, उपाध्यक्ष, महासचिव र अरु पनि धेरैजना पदाधिकारीहरु समवेदना दिन आएको भन्दै आउनुभयो । त्यसपछि चेक दिनुभयो । मैले त्यो लिन सकिन । मेरो छोरा ल्याइदिनुस म यो चार तल्ले घर नै तपाईंहरुलाई दिन्छु भनेर फर्काइदिएँ,’ आचार्य भावबिह्वल भए, ‘उद्धारका लागि मन्त्रीलाई भन्यौं, गृह मन्त्रीलाई भन्यौं भनेर सहानुभूति लिन खोज्नुभयो । सामान्य ढिस्कोमा पुरिएर बाबुहरुले ज्यान गुमाउनुपरेको रहेछ । बाबुहरुको मृत्यु भइसकेपछि जसलाई फोन गरे पनि त्यसको हामीलाई के अर्थ र ?’
छोराले अन्तिम समयमा लगातार फोन गरेर लिन आउन गरेको आग्रह सम्झेर आचार्य अहिले पनि सम्हालिन सक्दैनन् । उनका अनुसार प्रियान्सले १० गतेदेखि लगातार फोन गरेर १४ गते लिन आउनुस भनेको थियो । दशै नजिकिएकाले घर आउनका लागि प्रियान्स निक्कै उत्सुक थिए । १६ गतेबाट बिदा हुने भए पनि प्रियान्सले भने १४ गते नै घर आउन चाहेका थिए ।
‘बाबुले फोन गरेर बाबा मलाई लिन आउनुस भन्यो । मैले १६ गते बिदा भएपछि आउँला नी, होमवर्कहरु पनि गर्नुपर्छ भनेँ । उसले रिसाएर फोन काटिदियो । टाढा भएको छोरा रिसाएपछि मैले फेरि फोन गरेर १४ गते नै आउँछु भनेको थिएँ । तर यिनीहरुको लापरवाहीले गर्दा मेरो छोराको लागि त्यो १४ गते कहिल्यै आएन,’ यति भनिसकेपछि आचार्य थप बोल्न सकेनन् ।
व्यवस्थापिका संसदको पूर्वाधार विकास समितिले ‘व्यवस्थापनको गम्भीर लापरवाहीका कारण ६ जना अबोध बालकले अनाहकमा ज्यान गुमाउनुपरेको’ निश्कर्ष निकाल्दै शुक्रबार सरकारलाई छानविन गर्न निर्देशन दिएको थियो । समितिले नेपाल सरकारलाई तत्काल छानविन समिति बनाएर एक महिनाभित्र सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएको थियो ।
सिस्नेरी एकेडेमीमा २५ जना विद्यार्थी छनोट गरिए पनि आर्थिक तथा राजनीतिक स्वार्थका लागि १५ जना थप गरेर ४० विद्यार्थी राखिएको विषय पनि यही दूर्घटनापछि सार्वजनिक भएको थियो । एन्फाकै केही पदाधिकारीहरुका अनुसार थप १५ विद्यार्थी उनीहरुका परिवारबाट पैसा लिएर राखिएको थियो ।
शनिबार पहिरोमा पुरिएर एन्फा एकेडेमीमा रहेर अध्ययनका साथै फुटबल प्रशिक्षण गरिरहेका आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स, दिवस बानिया, अनुपम घलान र साइमन योन्जनको निधन भएको थियो ।