काठमाडौं । बार्यन म्युनिख जर्मन बुन्डेसलिगामा आइतबार घरेलु टोली इन्ट्रयाक्ट फ्रयाङ्कफर्टसँग ३-३ को बराबरीमा रोकिएको छ ।
यो नितजासँगै ६ खेलमा १४ अंक जोडेको बायर्न शीर्ष स्थानामा उक्लिएको छ ।फ्रयाङ्कफर्ट समान खेलबाट १३ अंकका साथ तेस्रो स्थानमा छ ।
ड्यूश बैंक पार्क रंगशालामा बायर्नका लागि किम मिन जे, डायोट उपामेकानो र माइकल ओलिसेले गोल गरे । फ्रयाङ्कफर्टका लागि ओमर मर्मोशले दुई र ह्युगो एटिकीकेले एक गोल गरे ।
खेलको १५औं मिनेटमा मिन जेको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । सात मिनेटपछि मर्मोशले फ्रयाङ्कफर्टलाई बराबरीमा ल्याए ।
एटिकीकेले ३५औं मिनेटमा गोल गर्दा फ्रयाङ्कफर्ट २-१ ले अगाडि बढ्यो । त्यो अग्रता लामो समयसम्म टिक्ने भने सकेन । तीन मिनेटपछि नै उपामेकानोले गोल गर्दा बायर्न २-२ को बराबरीमा आयो ।
ओलिसेले ५३औं मिनेटमा गोल गर्दा बार्यनले ३-२ को अग्रता लियो । इन्जुरी समयमा मर्मोशले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नबाट अंक खोसे ।