इटालियन सिरी ए

सम्झौता नविकरण हुने इब्राहिमोभिचको विश्वास

मिलान । एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले आफ्नो सम्झौता नवीकरण हुनेमा विश्वास व्यक्त गरेका छन् ।

मिलानलाई यस सिजन सिरी ‘ए’ को उपाधि दाबेदारका रुपमा उभ्याउन महत्वपूर्ण भूमिका खेलेका इब्राहिमोभिचले क्लबको लागि नौं लिगमा ६ गोल गरेका छन् । 

मिलान १६ खेलको समाप्तीमा ३८ अंकका साथ शीर्ष स्थानमा छ भने इन्टर मिलान समान खेलमा ३७ अंकका साथ दोस्रो र ३६ अंकसहित नेपोली तेस्रो स्थानमा छ ।

यस सिजनको अन्त्यसँगै ४० वर्षे  इब्राहिमोभिच र मिलानको सम्झौता सकिदैछ ।

२०१२ मा एसी मिलान छोडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्ध भएका इब्राहिमोभिच सन् २०२० मा मिलान फर्किएका थिए । 

इब्राहिमोभिचले अहिले नै क्लब छोड्ने कुनै योजना नभएको बताउँदै आएका छन् ।

‘सम्भव भएसम्म लामो समय मिलानबाट खेल्न चाहन्छु, मिलानलाई दबाब दिएर जीवनभर यहीं बस्न चाहन्छु,’ उनले भने, ‘मेरा अझै लक्ष्यहरु छन्, जसलाई पूरा गर्न बाँकी छ । म इटालीको प्रतिष्ठित उपाधि जित्न चाहन्छु ।’

‘फुटबल छोडेपछि के हुन्छ त्यो कुराले सन्यास लिन डर लागेको छ । तर म खेल खेल्न चाहन्छु पछि कुनै पछुतो नहोस्, इब्राहिमोभिचले थपे ।’

शनिबार सालर्निटानामाथि मिलानले २-० को जित हात पार्दा इब्राहिमोभिचले टोलीमा स्थान बनाउन सकेका थिएनन् ।