काठमाडौं । एन्फा महिला लिगअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले संकटा क्लबलाई २-१ ले पराजित गरेको छ ।
जितसँगै ९ खेलमा २१ अंक जोडेको पुलिस तेस्रो स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
संकटा भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । तालिकाको सातौं स्थानमा रहेको संकटाले ९ खेलमा मात्र आठ अंक जोड्न सक्यो ।
शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोलीलाई जित दिलाउन अनुष्का शेर्पा र समीक्षा घिमिरेले गोल गरे । संकटाका लागि सेलिना अनिमाले सान्त्वना गोल गरिन् ।
खेलको तेस्रो मिनेटमै अनुष्काको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै समीक्षाले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।
अनिमाले ७३औं मिनेटमा गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।