काठमाडौं । चावहिल फुटबल क्लबलाई ५-० ले पराजित गर्दै चित्लाङ एफसी काठमाडौं जिल्ला लिगको च्याम्पियन बनेको छ ।
सानो गौचरण मैदानमा चित्लाङलाई जित दिलाउन सुजित बुढाथोकीले दुई तथा आयुश कुँवर, रुजित पुडासैनी र विकास लामाले समान एक गोल गरे ।
उपाधिसँगै चित्लाङले १ लाख रुपैयाँ प्राप्त गर्यो । व्यक्तिगत विधामा पनि चित्लाङले नै कब्जा जमायो । सुजित बुढाथोकी सर्वोकृष्ट खेलाडी घोषित भए । उनले ५ हजार प्राप्त गरे ।
चित्लाङकै सक्कल रेग्मी, चन्द्रसुन्दर श्रेष्ठ र रुपेश क्षेत्री क्रमशः उत्कृष्ट रक्षक, गोलकिपर र प्रशिक्षक चुनिए ।
अपराजित रहँदै च्याम्पियन बनेको चित्लाङले समूह चरणमा एसिसी क्लबलाई २-०, समाज सेवा क्लबलाई ३-० तथा सेमिफाइनलमा दक्षिणकाली क्लबलाई ४-२ ले पराजित गरेको थियो ।
जिल्ला लिगमा च्याम्पियन भएसँगै चित्लाङ अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने प्रदेश लिगका लागि छनोट भएको छ ।
काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा १२ टोलीको सहभागिता थियो ।
एन्फाका उपाध्यक्ष एवं काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजङ्ग शाही लगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।