काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर रेखा पौडेलसम्मिलित अबुधाबी काउन्ट्री क्लबले एएफसी महिला च्याम्पियन्स लिगको पहिलो खेलमा घरेलु टोली उहान जियाङ्दाविद्ध २-१ को पुनरागमन जित हासिल गरेको छ ।
जितसँगै समूह ‘ए’ को आबुधाबीले तीन अंक जोडेको छ। उहानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
चीनको हान्कोउ क्लचर सेन्टरमा बिहीबार अबुधाबीलाई जित दिलाउन दुवै गोल नाइमा इब्राहिम घरिब जुमाले गरिन् । उहानका लागि कबान्गे मुपोपोले गोल गरिन् ।
खेलको चौथो मिनेटमै मुपोपोको गोलमार्फत उहानले अग्रता लिएको थिया । तर अन्त्यतिर सम्हालिन नसक्दा टोलीले खेल गुमाउन पुग्यो ।
निर्धारित समयको अन्तिम मिनेटमा जुमाले गोल गर्दै अबुधाबीलाई बराबरीमा ल्याइन् । इन्जुरी समयमा जुमाले नै व्यक्तिगत दोस्रो गोल गर्दै अबुधाबीलाई पुनरागमन जित दिलाइन् ।
रेखालाई भने आजको खेलमा मौका दिइएको थिएन ।