सातदोबाटो । विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै एन्फा महिला लिगको दोस्रो चरण (सुपर लिग) मा प्रवेश गरेको छ ।
शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफले बागमती युवा क्लबविरुद्ध ७-० को सहज जित निकाल्यो ।
जितसँगै ९ खेलमा २५ अंक जोडेको एपिएफ शीर्ष स्थानमा छ । पराजित बागमती समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ ।
एपिएफलाई जित दिलाउन रश्मीकुमारी घिसिङ ५ तथा अनिता बस्नेत र सविता रानामगरले समान एक गोल गरे ।
खेलको ३५औं मिनेटमा रश्मीको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ५ मिनेटपछि रश्मीले नै टाेलीकाे अग्रता दाेब्बर बनाइन् ।
दोस्रो हाफको सुरुआतमै अनिताले एपिएफका लागि तेस्रो गोल गरिन् । रश्मीले ५७औं मिनेटमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दा एपिएफ ४-० ले अगाडि बढ्यो ।
रश्मीले ८२औं मिनेटमा पेनाल्टीमार्फत नै व्यक्तिगत चाैथाे गरिन् । ६ मिनेटपछि नै व्यक्तिगत पाँचौं तथा टोलीका लागि छैटौं गोल गरिन् ।
अतिरिक्त समयमा सविताले गोल गर्दै एपिएफलाई ७-० को सनदार जित दिलाइन् ।