काठमाडौं । सुदूरपश्चिमविरुद्ध ४-० को सहज जित निकाल्दै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरण( सुपर लिग) मा प्रवेश गरेको छ ।
जितसँगै ९ खेलमा १४ अंक जोडेको कोशी पाँचौं स्थानमा छ । सुदूरपश्चिम भने जितविहिन बन्दै बाहिरिएको छ ।
यससँगै दोस्रो चरण पुग्ने पाँचैं टोलीको टुुंगो लागेको छ । कोशीसहित एपिएफ, पुलिस, आर्मी र वालिङ नगरपालिकाले दोस्रो चरणको यात्रा तय गरे ।
बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा कोशीलाई जित दिलाउन समीक्षा मगरले दुई तथा ममता राउत र खुस्मा राईले समान एक गोल गरे ।
खेलको २३औं मिनेटमा ममताको गोलमार्फत कोशीले अग्रता लिएको थियो । उनले समीक्षाको पासलाई वान टचमै पोस्टको दिशा दिइन् ।
समीक्षाले ५२औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् । सुनिता सरकारको क्रसलाई समीक्षले सहजै जाली चुमाइन् ।
समीक्षाले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा कोशी ३-० ले अगाडि बढ्यो । उनले पूर्णिमा राईको पासलाई पोस्टको दिशा दिइन् ।
निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा खुस्माले गोल गर्दै टोलीदलाई सहज जित दिलाइन् । उनले बक्स बाहिरबाटै गरेको प्रहारले जाली चुम्यो ।
बिहीबारै सम्पन्न खेलमा चन्द्रपुर नगरपालिकाविरुद्ध २-१ को जित निकाल्दै वालिङ नगरपालिकाले दोस्रो चरणमा स्थान पक्का गरेको थियो ।