काठमाडौं । चन्द्रपुर नगरपालिकाविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै वालिङ नगरपालिका एन्फा महिला लिगको दोस्रो चरण (सुपर लिग) मा प्रवेश गरेको छ ।
जितसँगै वालिङ ९ खेलमा १५ अंकका साथ चौथो स्थानमा छ । पराजयसँगै समान खेलबाट ८ अंक जोडेको चन्द्रपुर आठौं स्थानमा रहेर बाहिरिएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बिहीबार वालिङलाई जित दिलाउन सुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरे । चन्द्रपुरका लागि सुनिता सुनारले गोल फर्काइन् ।
खेलको पाँचौं मिनेटमा सुक्रियाको गोलमार्फत वालिङले अग्रता लिएको थियो । सिसी एनटोङ्गोको कर्नरलाई चन्द्रपुरकी गोलकिपर उषा थापाले नियन्त्रणमा लिन नसक्दा बक्स भित्र रहेकी शुक्रियाले सहजै जाली चुमाइन् ।
ज्याकलिनले ३६औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् । उनले सुष्मा तामाङको क्रसलाई बक्स भित्रबाट वान टचमै पोस्टको दिशा दिइन् ।
सुनिताले खेलको ५०औं मिनेटमा गोल गर्दै चन्द्रपुरलाई खेलमा फर्काउने संकेत दिए पनि त्यो पर्याप्त बन्न सकेन । सजनी थोकरको थ्रु बललाई वालिङका रक्षकले रोक्न नसक्दा सुनिताले वान टचमै गोल गरिन् ।