काठमाडौं । राष्ट्रिय महिला लिगमा आज (बिहीबार) दुई खेल आयोजना हुँदैछन् ।
पहिलो खेलमा चन्द्रपुर र वालिङ नगरपालिका तथा दोस्रो खेलमा कोशी र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुँदैछ ।
खराब प्रदर्शनलाई निरन्तरता दिएको सुदूरपश्चिम पहिलो चरणबाटै बाहिरिकेको छ । चन्द्रपुर, वालिङ र कोशी भने अन्तिम खेल जित्दै दोस्रो चरणमा पुग्ने योजनामा छन् । बागमतीले भने शुक्रबार एपिएफसँग खेल्नेछ ।
यसअघि नै विभागीय टोलीहरु एपिएफ, आर्मी र नेपाल पुलिस दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । अब, कोशी, चन्द्रपुर र वालिङ मध्ये दुई टोलीको टुंगो लाग्न बाँकी । त्यो पनि आजको खेलसँगै पूरा हुनेछ ।
२२ अंकसहित एपिएफ शीर्ष स्थानमा छ । आर्मीको १९ र पुलिसको १८ अंक छ । वालिङको १२, कोशीको ११ तथा बागमतीको १० अंक छ । संकटा र चन्द्रपुरको समान ८ अंक रहँदा कर्णालीको चार अंक छ । आठ खेलमा ६५ गोल बेहोरेको सुदूरपश्चिम पुछारमा छ ।
कोशी कमजोर सुदूरपश्चिमविरुद्ध जित निकाले सिधै दोस्रो चरणमा प्रवेश गर्नेछ । चन्द्रपुरविरुद्ध जित निकाले वालिङ पनि सिधै छनोट हुनेछ । यदि चन्द्रपुरले जित निकालेको अवस्थामा पनि वालिङको सम्भावना यथावत रहन्छ । तर, बागमतीले शुक्रबार हुने खेलमा एपिएफलाई हराउँनु पर्नेछ ।
दोस्रो चरणमा पाँच टोलीले एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन् । तालिकाको शीर्ष पाँच टोलीबीच नकआउट खेल हुनेछ । प्लेअफ खेलमा फाइनलसहित चार खेल हुनेछन् ।