काठमाडौं । घरेलु टोली भुटानविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपको सेमिफाइन प्रवेश गरेका छ ।
जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल समूह ‘बी’ को उपविजेता बन्यो । पराजित भुटान भने समान खेलबाट चार अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो ।
यो समूहबाट पाकिस्तान विजेताका रूपमा अन्तिम चारमा प्रवेश गर्यो ।
बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाललाई जित दिलाउन कृष्णबहादुर आले र सुजन डंगोलले गोल गरे । भुटाका लागि योन्टेन थार्चेनले गोल गरे ।
खेलको ४३ औं मिनेटमा थार्चेनको गोलमार्फत भुटाले अग्रता लिएको थियो । ५४औं मिनेटमा कृष्णले नेपाललाई बराबरीमा ल्याए ।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा सुजनले गोल गर्दै नेपालाई रोमाञ्चक पुनरागमन जित दिलाए ।
पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले हराएको थियो ।
नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतको सामना गर्नेछ ।