काठमाडौं । एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले आफ्ना अपराजित यात्रालाई आठौं खेलसम्म पनि कायम राखेको छ ।
बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसले कर्णाली प्रदेशविरुद्ध ३-० को सहज जित निकाल्यो ।
जितसँगै आठ खेलमा १८ अंक जोडेको पुलिस तेस्रो स्थानमा छ । पराजित कर्णाली समान खेलबाट ४ अंकका साथ नवौं स्थानमा छ ।
पुलिसलाई जित दिलाउन निर्मला उपाध्याय, मनिषा राउत र सम्झना लावतीले गोल गरे ।
खेलको ४४औं मिनेटमा निर्मलाको गोलमार्फत पुलिसले अग्रता लिएको थियो ।उनले कप्तान घिमकुमारी गुरुङको कर्नरलाई पोस्टको दिशा दिइन् ।
मनिषाले ५५औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् । यस पटक पनि घिमकुमारीको फ्रिकिकलाई कर्णालीकी गोलउकिपर लिला जोशीले नियन्त्रणमा लिन नसक्दा बक्स भित्र निगरानीमा नरहेकी मनिषाले सहजै गोल गरिन् ।
निर्धारित समय सकिन ८ मिनेट बाँकी रहँदा सम्झनाले गोल गर्दै पुलिसलाई ३-० को सहज जित दिलाइन् । मनिषाको फ्रिकिक बारमा फर्किदा प्राप्त रिबाउन्डलाई उनले सहजै पोस्टको दिशा दिइन् ।