काठमाडौं । नेपालले एएफसी यु-२० एसियन कप छनोटको आफ्नो तेस्रो खेलमा उज्वेकिस्तानविरुद्ध ६-० को लज्जास्पद हार ब्यहोरेको छ ।
हारसँगै समूह ‘बी’ को नेपालको एसियन कप पुग्ने सम्भावना न्यून बनेको छ । नेपालले तीन खेलबाट तीन अंक जोडेको छ । पहिलो खेलमा कम्बोडियासँग ४-१ ले पराजित नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को जित हासिल गरेको थियो ।
लगातार दोस्रो खेल जितेको उज्वेकिस्तानले एसियन कप पुग्ने सम्भावनालाई बलियो बनाएको छ । उज्वेकिस्तानले अब घरेलु टोली र बहराइनसँग खेल्न बाँकी छ ।
बुधबार न्यु ताइपेस्थित फु जेन क्याथोलिक युनिभर्सिटी रंगशालमा सम्पन्न खेलमा नेपाल तुलनात्मक रुपमा बलियो टोली उज्वेकिस्तानविरुद्ध खेलअवधि भर निरीह रह्यो ।
उज्वेकिस्तानलाई जित दिलाउन सइद्नुरुल्लाएभ सैदुमार्खोनले दुई तथा नुर्लान इब्राइमोभ, लाजिज्बेक मिर्जाएभ, मेइब्रेक रेजाबालिएभ र अब्दुगाफुर हैदारोभ समान एक गोल गरे ।
खेलको १९औं मिनेटमा रक्षक सविन घिमिरेले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा उज्वेकिस्तानले उठायो ।
सौदुमार्खोनको गोलमार्फत २४औं मिनेटमा उज्वेकिस्तानले अग्रता लिएको थियो । तीन मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए ।
इब्राइमोभले २९औं मिनेटमा गोल गर्दा उज्वेकिस्तानले पहिलो हाफमै ३-० को अग्रता लियो । ६७औं मिनेटमा मिर्जाएभले टोलीका लागि चौथो गोल गरे ।
रोजाबालिएभले ८७औं मिनेटमा गोल गर्दा उज्वेकिस्तानको अग्रता ५-० मा पुग्यो । अन्तिम मिनेटमाहैदारोभले गोल गर्दै उज्वेकिस्तानलाई सानदार जित दिलाए ।
नेपालले अब बुधबार समूहको अन्तिम खेलमा बहराइनसँग खेल्नेछ ।