काठमाडौं । एन्फा महिला लिगमा मंगलबार बागमती युवा क्लबले संकटा क्लबविरुद्ध ३-१ को जित निकालेको छ ।
जितसँगै आठ खेलमा १० अंक जोडेको बागमती पाँचौं स्थानमा उक्लिएको छ । पराजित संकटा समान खेलबाट सातौं स्थानमा झरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बगमतीलाई जित दिलाउन गिफ्टी अचेमपोङले दुई र पुष्पाकुमारी खड्काले एक गोल गरे । संकटाका लागि टिमीलोपे जेनिफरले एक गोल फर्काइन् ।
खेलको ६७औं मिनेटमा अचेमपोङको गोलमार्फत बागमतीले अग्रता लिएको थियो । ९ मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाइन् ।
जेनिफरले ८३औं मिनेटमा गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् ।
इन्जुरी समयमा कप्तान दिव्या यस्मालीमगरले पेनाल्टीमा गोल गर्न नसक्दा बागमतीले गोल अन्तर बढाउने अवसर गुमायो । उनको प्रहार बाहिरिएको थियो ।
इन्जुरी समयमै पुष्पाले गोल गर्दै बागमतीलाई जित दिलाइन् ।
मंगलबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकाविरुद्ध ८-० को सानदार जित निकाल्यो ।