काठमाडौं । एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले मंगलबार वालिङ नगरपालिकाविरुद्ध ८-० को फराकिलो जित निकालेको छ ।
जितसँगै आठ खेलमा १९ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ । पराजित वालिङ समान खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा आर्मीलाई जित दिलाउन चन्द्र भण्डारीले ह्याट्रिक गर्दा विमला विक र अमिशा कार्कीले समान दुई गोल थपे । एक गोल अत्मघाती उपहार स्वरुप प्राप्त भयो ।
खेलको ३८औं मिनेटमा विमलाको गोलमार्फत आर्मीले अग्रता लिएको थियो । ४२औं मिनेटमा चन्द्राले टोलीको अग्रता दोब्बर बनाइन् ।
त्यसको दुई मिनेटपछि फातुमा नाकासुम्बाबाट आत्मघाती गोल हुन पुग्दा आर्मी ३-० ले अगाडि बढ्यो । चन्द्राले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरिन् ।
अमिशाले ६१ र ७१औं मिनेटमा गोल गर्दा आर्मीले ६-० को फराकिलो अग्रता लियो ।
चन्द्राले ७३औं मिनेटमा ह्यााट्रिक पूरा गरिन् । ९०औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई सानदार जित दिलाइन् ।