काठमाडौं । राष्ट्रिय महिला लिगमा आज (मंगलबार) दुई खेल आयोजना हुँदैछन् । दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
दिउसो १२ः३० बजे सुरु हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई वालिङ नगरपालिकाले चुनौती दिँदैछ । अधिकांश राष्ट्रिय टोलीका खेलाडी समावेश गरेको आर्मी र विदेशी खेलाडी समावेश गर्दै बलियो देखिएको वालिङबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
उमेर समूहबाट खेलिसकेको खेलाडी समावेश गरेको वालिङले युगान्डाका तीन खेलाडी समावेश गरेको छ । ज्याकलिन नासारी उच्च लयमा छिन् । सात गोल गरेर दोस्रो स्थानमा रहेकी उनलाई रोक्नु आर्मीका रक्षापंक्तीको लागि चुनौती हुनेछ । अर्की विदेशी खेलाडी भिओला नामुडुले तीन गोल गरेकी छिन् ।
यता, आर्मीले आफ्नो प्रदर्शनमा सुधार जारी राखेको छ । राष्ट्रिय टोलीबाट खेलिसकेका दीपा शाही, अमिषा कार्की, विमल चौधरी, दीपा राई, गोलकिपर अञ्जना राना मगर, चन्द्रा भण्डारीसँगै अनिता लम्जेल आर्मीमा छन् ।
दीपा शाहीले ७, विमलाले ६ तथा अनिता र अमिषाले पाँच गोल गरिसकेका छन् ।
महिला लिगमा सात खेलबाट १६ अंकसहित दोस्रो स्थानमा रहेको आर्मीले दोस्रो चरण पक्का गरिसकेको छ । १२ अंकसहित चौथो स्थानमा रहेको वालिङ शीर्ष पाँचमा आफ्नो स्थान सुरक्षित गर्ने योजनामै छ ।
दिनकै दोस्रो खेलमा संकटा क्लब र बागमती युवा क्लब प्रतिस्पर्धा गर्दैछन् । खेल दिउसो ३ः३० बजे सुरु हुनेछ । दुबै टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले सिधै महिला लिग खेल्ने अवसर दिएको थियो । संकटाले भने यसै सिजनबाट महिला लिगमा ‘डेब्यु’ गरेको छ ।
८ अंक जोडेको संकटा र ७ अंक जोडेको बागमती दुबै शीर्ष पाँचमा स्थान बनाउने योजनामा छन् ।
हालसम्म तीन विभागीय टोलीको मात्रै दोस्रो चरण पक्का भएको छ । अब, बाँकी दुई स्थानको लागि वालिङ, कोशी, संकटा, चन्द्रपुर तथा बागमतीबीच प्रतिस्पर्धा चलिरहेको छ ।
दोस्रो चरणमा पाँच टोलीबीच डबल राउन्ड रोबिन लिग हुनेछ । त्यसबाट शीर्ष पाँच टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । चार खेल हुने नकआउट चरणबाट लिगको विजेता टुंगो लाग्नेछ ।