काठमाडौं । नेपालले एएफसी यु-२० एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा सोमबार घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३-१ को सहज जित निकालेको छ ।
जितसँगै समूह ‘बी’ को नेपालले दुई खेलमा तीन अंक जोडेको छ । दुवै खेलमा पराजित चाइनिज ताइपेइ अंकविहिन छ ।
नेपाल पहिलो खेलमा कम्बोडियासँग ४-१ ले पराजित भएको थियो । चाइज ताइपेइले पहिलो खेलमा बहराइनसँग १-० को हार ब्यहोरेको थियो ।
न्यु ताइपेइस्थित फु जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा नेपाललाई जित दिलाउन तीनै गोल समिर तामाङले गरे ।
खेलको ३२औं मिनेटमा समिरको गोलमार्फत नेपालले अग्रता लिएको थियो । त्यसकाे तीन मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा याङ चाओजिङ गोल गर्दै ताइपेइलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा समिरले ह्याट्रिक पूरा गर्दै नेपाललाई सहज जित दिलाए । प्रतियोगितामा समिरको यो चौथो गोल हो । यसअघि उनले कम्बोडियाविरुद्ध पनि गोल गरेका थिए ।
अब नेपालले बुधबार उज्वेकिस्तानको सामना गर्नेछ ।