काठामाडौं । एन्फा महिला लिगमा सोमबार चन्द्रपुर नगरपालिका र कोशी प्रदेश १-१ को बराबरीमा रोकिएका छन् ।
यो नतिजासँगै आठ खेलमा ११ अंक जोडेको कोशी पाँचौं स्थानमा छ । चन्द्रपुर समान खेलबाट आठ अंकका साथ सातौं स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा चन्द्रपुरका लागि सुनिता सुनार र कोशीका लागि ममता राउतले गोल गरे ।
खेलको ५०औं मिनेटमा प्रतिक्षा राई पेनाल्टीमा चुक्दा कोशीले अग्रता लिने सुनौलो अवसर गुमायो ।
ममताको प्रहार चन्द्रपुरकी कप्तान सलोनी रानमगरको हातमा लागेपछि कोशीले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । प्रतिक्षाको प्रहार गोलकिपर उषा थापाले सहजै बचाइन् ।
एक मिनेटपछि नै चन्द्रपुर अग्रता लिन सफल भयो । सेनु परियारको हेडर पासलाई सुनिताले पोस्टको दिशा दिइन् ।
निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा ममताले गोल गर्दै कोशीलाई हारबाट जोगाइन् । उनले पूर्णिमा राईको थ्रु पासलाई जाली चुमाइन् ।