इङ्लिस प्रिमियर लिग

क्लबको प्राथमिकता सुखद नतिजा हो, प्रशिक्षक परिवर्तन होइनः उपाध्यक्ष उडवार्ड

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका उपाध्यक्ष इड उडवार्डले आफूहरुको प्राथमिकता प्रशिक्षक परिवर्तनमा भन्दा पनि मैदानमा हात पार्ने नतिजामा रहेको बताएका छन् ।

पछिल्लो दुई खेलमा घरेलु मैदान ओल्ड ट्राफोर्डमा लिभरपुलसँग ५-० र म्यानचेस्टर सिटीसँग २-० ले पराजित भएपछि प्रशिक्षक ओले गनर सोल्सारमाथि दबाब बढेको थियो । युनाइटेडले पछिल्लो ६ खेलमा चार खेल गुमाइसकेको छ ।

युनाइटेडले शनिबार प्रिमियर लिगमा वाट्फोर्डको सामना गर्दैछ । युनाइटेड शीर्ष स्थानको चेल्सी भन्दा नौ अंकले पछि परिसकेको छ ।

‘कोभिड १९ महामारीका कारण क्लबले केही आर्थिक संकट व्यहोरेको छ’, उनले भने, ‘यस्तो स्थितीमा हामी प्रशिक्षक परिवर्तनको बारेमा सोच्दैनौ । हाम्रो प्राथमिकता भनेको सुखद नतिजा ल्याउनु हो । क्लबका प्रशिक्षक र खेलाडी सबै सफलता हात पार्न चाहन्छन् ।’

युनाइटेडले वेस्ट ब्रोम,लिड्स युनाइटेड र फुलहमसँग पनि जित हात पार्न सकिरहेको छैन ।