स्पेनिस ला लिगा

मेसी र इनियस्टाको क्याम्प नोउ पुनरागमन सम्भावना समाप्त भैसकेको छैनः अध्यक्ष लापोर्टा

मड्रिड । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले लियोनल मेसी र आन्द्रेस इनियस्टाको क्याम्प नोउ पुनरागमन सम्भावना अन्त्य नभइसकेको बताएका छन् ।

ब्राजिलियन रक्षक ड्यानी आल्भेसलाई क्याम्प नोउमा भित्राउँदै लापोर्टाले मेसी र इनियस्टाको क्लब फर्कने सम्भावना कायम रहेको बताएका हुन् ।

इनियस्टा सन् २०१८ मा जापानिज क्लब भिसेल कोबेमा अनुबन्धन भएका थिए । बार्सिलोनाले चरम आर्थिक अभावका कारण मेसीसँग यस सिजन सम्झौता नविकरण गर्न सकेन । जसका कारण मेसी पेरिस सेन्ट जर्मन(पिएसजी) मा अनुबन्धन भएका थिए ।
‘म मेसी र इनियस्टाको क्लब फर्कने सम्भावना समाप्त भैसक्यो भन्दिन,’ लापोर्टाले भने, ‘ड्यानी क्लब फर्किएका छन् । म उनलाई धन्यवाद भन्न चाहन्छु किनभने उनले क्लबको अवस्था हेरेर केही सहयोग पुग्छ की भनेर यहाँ फर्किएका हुन् ।’

बार्सिलोनाका पूर्व मिडफिल्डर जाभी कतारी क्लब अल सादबाट क्याम्प नोउको प्रशिक्षण सम्हाल्न आएपछि क्लबले भित्राएको आल्भेस पहिलो खेलाडी हुन् ।

‘हामी सधै आर्थिक अभावमा हुँदैनौ,’ उनले भने, ‘छिट्टै यो अवस्थाको अन्त्य हुन्छ ।बार्सिलोनालाई महान क्लब बनाउन मेसी, जाभी, इनियस्टा र आल्भेसको हात छ । मेसी र इनियस्टा अझै खेलिरहेका छन् । उनीहरु अहिले अन्य क्लबसँगको सम्झौतामा छन् ।तर यहाँ केही भन्न सकिदैन । उनीहरु कुनै दिन क्याम्प नोउ फर्कने छन् भन्ने आशा मरेको छैन ।’